काठमाडौं । भारतको हैदराबादमा रहेको साउथ स्टार राम चरणको आगामी फिल्म ’द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको बताइएको छ । सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको जस्तो अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो । पानीको ट्याङ्की फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो । यो दुर्घटनाका कारण ‘द इन्डिया हाउस’को सम्पूर्ण सेट डुबेको जस्तो देखिन्थ्यो ।
उपकरणमा धेरै क्षति भएको छ । घटनामा एक सहायक कोरियोग्राफर र चालक दलका केही सदस्य पनि घाइते छन् । घाइतलाई अस्पताल लगिएको छ । घटनाको समयमा राम चरण सेटमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन, तर फिल्मको छायांकन अहिलेलाई रोकिएको छ ।
यो फिल्म सन् २०२३ मा घोषणा गरिएको थियो । त्यसबेला तेलुगु सुपरस्टारले लन्डनमा फिल्मको टिजर पनि देखाएका थिए । यो फिल्म निर्माताको रूपमा राम चरणको पहिलो फिल्म हो । रिलिज मिति अहिलेसम्म घोषणा गरिएको छैन ।